नियम ३४
वैकल्पिक उम्मेदवार सिफारिस गर्ने
(१) आयोगले ऐनको दफा ३७ को उपदफा (२) को अवस्थाको अतिरिक्त देहायको अवस्थामा वैकल्पिक उम्मेदवारको सूचीमा रहेका उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस गर्नेछः –
(क) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्तिको सूचना पाएको वा सूचना प्रकाशित भएको मितिले तीस दिनभित्र नियुक्ति पत्र नलिएमा,तर नियुक्तिको लागि सिफारिस भएको उम्मेदवारले सम्बन्धित कार्यालयमा आफैं उपस्थित भई नियुक्ति नलिने व्यहोराको निवेदन पेश गरी सनाखत गरेमा यस खण्ड बमोजिमको अवधि ननाघे पनि वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्न सकिनेछ ।
(क१) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारले नियुक्ति बुझिलिएको मितिले प्रचलित कानून बमोजिमको अवधि भित्र सम्बन्धित कार्यालयमा बहाली नगरेको आधारमा अख्तियारवालाले निजको नियुक्ति बदर गरेमा,
(क२) आयोगबाट नियुक्तिको लागि सिफारिस गरिएको कुनै उम्मेदवार सिफारिस हुदाका बखत प्रचलित नेपाल कानून बमोजिम अयोग्य रहेको कुरा सिफारिस भई सके पश्चात मात्र जानकारी हुन आई आयोगबाट त्यस्तो उम्मेदवारको सिफारिस रद्द भई अख्तियारवालाले निजको नियुक्ति
बदर गरेमा ।
(ख) नियुक्तिको लागि सिफारिस गरिएको उम्मेदवारको सिफारिस भएको मितिले एक वर्षभित्र मृत्यु भई वा निजले नियुक्ति लिएको पदबाट
राजीनामा दिई वा निजको अन्य पदमा नियुक्ति भई निजले नियुक्ति लिएको पद रिक्त हुन आएमा ।
(२) उपनियम (१) को खण्ड (क), (क१) वा (ख) बमोजिमको अवस्था परेमा अख्तियारवालाले पद रिक्त भएको मितिले सात दिनभित्र आयोगलाई जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि पद रिक्त भएको सात दिन भित्र जानकारी दिन नसकेको मनासिव कारण सहित अख्तियारवालाबाट लेखी आएमा आयोगले वैकल्पिक सूचीमा रहेको उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्तिको लागि सिफारिस गर्न
सक्नेछ ।
तर आयोगले नियुक्तिको लागि सिफारिस गरेको एक वर्ष सात दिन पछि प्राप्त भएको जानकारीको आधारमा वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्ने छैन ।